स्थानीय तहमा स्टार्ट-अप उद्यम सञ्चालनको सम्भाव्यता तथा अवसर सम्बन्धी छलफलको आयोजना

नोभेम्बर 21, 2021

नीति अनुसन्धान प्रतिष्ठानले २०७८ मङ्सिर ५ गते ललितपुरस्थित स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानको वैठक कक्षमा “स्थानीय तहमा स्टार्ट-अप उद्यम सञ्चालनको सम्भाव्यता तथा अवसर”  विषयक नीतिगत छलफल आयोजना गर्‍यो।

प्रतिष्ठानको “आर्थिक मामिला तथा पूर्वाधार विकास केन्द्र”को आयोजना र नेपालका उदीयमान युवा उद्यमीहरूको सहभागितामा सम्पन्न सो कार्यक्रमको सञ्चालन केन्द्रकी प्रमुख डा. कल्पना खनालले गर्नुभएको थियो भने केन्द्रकै अनुसन्धानकर्ता डा. राजेन्द्र खनालको  प्रस्तुतीकरण रहेको थियो l

प्रतिष्ठानका कार्यकारी अध्यक्ष डा. विष्णु राज उप्रेतीले सहभागीहरूलाई कार्यक्रममा स्वागत गर्दै प्रतिष्ठानको छोटो परिचय दिनुभयो । डा. उप्रेतीले युवा उद्यमीहरू नेपालका चम्किला ताराहरू भएकाले उनीहरूका नवीन व्यावसायिक विचारहरूलाई समयसापेक्ष नीतिगत हस्तक्षेपका साथ सम्बोधन गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रम सञ्चालिका डा. खनालले रोजगारीका अवसरहरू सिर्जना गर्न, रचनात्मक र नवीन विचारहरूको पालनपोषण र महिला सशक्तीकरणका लागि युवा तथा महिलाहरूलाई प्राथमिकता सहित स्टार्टअपहरूको विकास र प्रवर्द्धन नीतिहरूको आवश्यकता रहेको  प्रस्ट पार्नुभयो l यस स्टार्ट-अप उद्यम सञ्चालन विषयका प्रस्तोता डा. राजेन्द्र खनालले स्टार्टअप व्यवसायहरूको माग पूरा गर्न विद्यमान नीतिहरू पर्याप्त भए नभएको  र विद्यमान नीति कार्यान्वयन सम्बन्धी युवा उद्यमीहरूको अनुभवमा केन्द्रित भई छलफलमा सहभागी हुन आग्रह गर्नुभएको थियो ।

कार्यक्रममा स्मार्ट-टेक सोल्युसन्सबाट सेरिस धिताल, कोक्रोमाबाट रेवती गुरुङ, फिब्रो नेपालबाट सुरजराज पाण्डे, दिगो नेपालबाट अञ्जना मल्ल, दायित्वबाट राज खरेल, किम्बु टेकबाट कार्भिका थापा, स्किल ल्याबबाट नन्द किशोर मण्डल, मित-आहाराबाट सप्रिया भट्टराई, ह्यान्ड्स-अन इन्स्टिच्युटबाट विजय पौडेल, उद्यमी इन्नोभेशनबाट कविराज जोशी, आर्टेलिएर होमबाट लुमन्ती शाक्य र नेपाली युवा उद्यमी सङ्घबाट प्रार्थना साखले आफ्ना विचार र अनुभवहरू राखेका थिए l

छलफलमा सहभागीहरूबाट निम्नानुसारका विषयहरू उठान भएका थिए:  

  • नेपालको आयातमुखी अर्थतन्त्रलाई रोक्न निर्यातमुखी बनाउनका लागि स्टार्टअप व्यवसाय प्रवर्द्धन गर्न आवश्यक रहेको ।
  • स्टार्ट-अपलाई अन्य व्यवसायभन्दा फरक पार्न र दर्ता प्रक्रियालाई सहज बनाउन स्टार्टअपको उचित परिभाषा हुन आवश्यक देखिन्छ l
  • स्टार्ट-अपका लागि सुरुआत बिन्दुहरू, कम्पनी दर्ता, विविधता, र निकास नीतिहरूलाई अन्य प्रकारका व्यवसायहरूबाट अलग गर्न आवश्यक छ ।
  • प्रमुख सहरी क्षेत्रमा “इनोभेसन हब” स्थापना गर्न सके यसले नयाँ स्टार्ट-अप विचारहरू सिर्जना गर्न मद्दत पुग्ने देखिन्छ ।
  • अनुसन्धानको अभाव, सरकारी अनुदानको अभाव, जटिल सरकारी कर्मचारीतन्त्र , मार्गदर्शन र सूचनाको अभाव वा विशेष क्षेत्रमा विशिष्ट विज्ञताको अभावका कारण स्टार्टअपहरू असफल हुने भएकाले सरकारी नीतिहरूले स्टार्टअपहरूलाई विशेष प्राथमिकता दिन आवश्यक देखिन्छ ।
  • स्टार्टअपका लागि एकद्वार नीतिमा जोड दिन आवश्यक छ ।
  • महिला उद्यमीलाई स्टार्टअप व्यवसायमा लगाउन ऋण, तालिम, सीप विकास र उद्यमशीलतामा विशेष अनुदान दिने नीति अगाडि बढाउन आवश्यक छ ।
  • महिलाको समस्या समाधान गर्ने क्षमता र अर्थतन्त्रको अनौपचारिक क्षेत्रमा रहेका ज्येष्ठ नागरिकका अनुभवमा आधारित कथा र जीवन सिकाइ नयाँ विचारको स्रोत हुनसक्ने भएकाले अशिक्षित, महिला, वृद्धवृद्धाको आवाज पनि सुनिनुपर्ने आवश्यकता रहेको छ l
  • सरकारी नीतिहरू रोजगारी तालिम र  मागमा आधारित सीप विकासमा केन्द्रित हुनुपर्छ ।
  • “भविष्यको सीप” प्रदान गर्न र शिक्षित व्यक्तिहरूको बेरोजगारी समस्या समाधान गर्न “एसेम्ब्ली लाइन अफ स्किलिङ” को योजना बनाउन आवश्यक देखिन्छ l