
सामुदायिक विद्यालय शिक्षालाई समसामयिक र गुणस्तरीय बनाउन गर्नु पर्ने नीतिगत व्यवस्थासम्बन्धी नीति संवाद सम्पन्न
मिति: १४ पुस २०७९
स्थान: नीति अनुसन्धान प्रतिष्ठान
सामुदायिक विद्यालय शिक्षालाई समसामयिक र गुणस्तरीय बनाउन के कस्ता नीतिगत तथा कानुनी व्यवस्था गर्नु पर्ला भन्ने सवालमा केन्द्रित रही आयोजना गरिएको नीति संवादमा उपस्थित शिक्षाविद् तथा विज्ञहरूले शिक्षक सेवा आयोगलगायत सम्बन्धित निकायहरूले गर्नुपर्ने अल्पकालीन तथा दीर्घकालीन उपायहरूका बारेमा आ-आफ्नो धारणा राख्नुभएको थियो ।
सामुदायिक विद्यालय शिक्षालाई गुणस्तरयुक्त बनाउन योग्य, सक्षम र प्रतिस्पर्धी शिक्षकहरूको छनौट गरिनु पर्नेमा विज्ञहरूमा एकमत रह्यो l कार्यरत शिक्षकहरूलाई पेसागत दायित्वप्रति जिम्मेवार र मर्यादित बनाउँदै सेवामा टिकाइ राख्न आवश्यक तालिम तथा प्रोत्साहन प्रणालीको व्यवस्था गरिनु पर्ने उहाँहरूको अर्को सुझाव थियो । विद्यालय स्तरको शिक्षालाई समयको मागमा आधारित र गुणस्तरीय बनाउन नीतिगत तथा कानुनी अपर्याप्तता रहेको चर्चा गर्दै प्रचलित नीति तथा कानुनको समसामयिक सुधार तथा नयाँ नीति/कानुनको निर्माण गरिनु पर्नेमा पनि विज्ञहरूमा मतैक्य थियो ।
नीति अनुसन्धान प्रतिष्ठानका कार्यकारी अध्यक्ष डा. विष्णुराज उप्रेतीको अध्यक्षता र सञ्चालनमा सम्पन्न उक्त संवादमा शिक्षक सेवा आयोगका अध्यक्ष मधु प्रसाद रेग्मी, त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष शिवलाल भुसाल, काठमाडौँ विश्वविद्यालय स्कुल अफ एजुकेसनका डीन बालचन्द्र लुइँटेल, त्रिभुवन विश्वविद्यालय शिक्षा शास्त्र सङ्कायका डीन चित्र बहादुर बुढाथोकी, प्राध्यापक मनप्रसाद वाग्ले, नेपाल संस्कृत विश्वविद्यालयका रजिस्ट्रार माधव अधिकारीलगायतले दक्ष जनशक्ति उत्पादन र तिनको दक्षताको प्रभावकारी परिचालनका सम्बन्धमा विश्वविद्यालय तथा शिक्षक सेवा आयोगले गर्नुपर्ने सुधारका कार्यहरूमाथि विचार व्यक्त गर्नुभयो । वक्ताहरूले यस्ता संवाद कार्यक्रमहरूमा राजनीतिक नेतृत्वलाई पनि समावेश गर्न सल्लाह दिनुभएको थियो ।
सार्वजनिक नीति संवाद कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदी, सहसचिव हरि लम्साल, विश्वविद्यालय अनुदान आयोगका सचिव शङ्कर प्रसाद भण्डारी, राजर्षि जनक विश्वविद्यालयका रजिस्ट्रार जुगेश्वर शाह, नीति अनुसन्धान प्रतिष्ठानका बोर्ड सदस्य अरविन्द केशरी तथा युलेन्स स्कुलका प्राचार्य मेदिन लामिछानेको उपस्थिति रहेको थियो । कार्यक्रमको अन्त्यमा, प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका सचिव राम प्रसाद थपलियाले यो संवाद कार्यक्रमको आयोजना गरेकोमा नीति अनुसन्धान प्रतिष्ठान धन्यवादको पात्र रहेको बताउँदै चरणबद्ध रूपमा गरिने यस्ता संवादहरू समस्याको समाधान निकाल्न सहयोगी हुने धारणा राख्नुभयो ।