सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीसँग नीति अनुसन्धान प्रतिष्ठानका पदाधिकारीहरूको भेटघाट

August 28, 2024

२०८१ भदौ  १२

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबार

नीति अनुसन्धान प्रतिष्ठानका पदाधिकारीहरूको टोलीले यही भदौ १२ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीसँग भेटघाट गर्‍यो। प्रतिष्ठानको टोलीमा कार्यकारी अध्यक्ष प्रा डा लेखनाथ शर्मा, अनुसन्धान विभाग प्रमुख डा हरि शर्मा न्यौपाने, सूचना तथा ज्ञान व्यवस्थापन विभाग प्रमुख डा दीपक कुमार खड्का, कार्यालय प्रबन्धक श्री लक्ष्मण प्रसाद भट्टराई र वरिष्ठ अनुसन्धानकर्ताहरू डा मुक्ति राम रिजाल, डा खगनाथ अधिकारी र डा. कल्पना खनाल हुनुहुन्थ्यो भने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सम्माननीय प्रधानमन्त्री केपी ओलीसँग नेपाल सरकारका मुख्य सचिव श्री लीलादेवी गडतौला र सचिव श्री राजकुमार श्रेष्ठ तथा सम्माननीय प्रधानमन्त्रीज्यूको स्वकीय सचिवालयका पदाधिकारीहरू हुनुहुन्थ्यो।

सो अवसरमा सम्माननीय प्रधानमन्त्री समक्ष प्रतिष्ठानका टोली सदस्यहरूले आफ्नो परिचय दिनुभएपछि कार्यकारी अध्यक्षले प्रतिष्ठानले हालसम्म सम्पन्न गरेका अनुसन्धान र नीति संवाद लगायतका क्रियाकलापहरूको प्रगति विवरण, प्रतिष्ठानको कार्ययोजना र वर्तमान आवश्यकताहरूबारे जानकारी प्रस्तुत गर्नुका साथै यस वर्षदेखि नीति अनुसन्धान प्रतिष्ठान र राष्ट्रिय योजना आयोगबिच सहकार्यमा नीति अनुसन्धानका कार्यक्रमहरू र स्रोत साझेदारी सञ्चालनमा लैजान तयारी गरिरहेको पनि अवगत गराउनु हुँदै आगामी दिनमा अवलम्बन गर्नु पर्ने कार्य दिशाका सम्बन्धमा सम्माननीय प्रधानमन्त्रीज्यूबाट सुझाव र निर्देशनको अपेक्षा गरेको बताउनुभयो।

सम्माननीय प्रधानमन्त्रीज्यूले नीति अनुसन्धान प्रतिष्ठान ज्ञानको हिसाबले नीति मामिलाहरूमा त्रिकालदर्शी किसिमले सुसूचित र बहुक्षमताको हुनुपर्ने, यसले गरेका अध्ययनहरू नीति निर्माताहरूको ज्ञानवर्धनको लागि मात्र नभएर नीतिको लागि व्यावहारिक रूपमा उपयोगी हुनुपर्ने बताउनुभयो।

सम्माननीय प्रधानमन्त्रीज्यूले राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानका फरक फरक कार्यादेश भएको स्पष्ट पार्नुहुँदै प्रतिष्ठानले आफ्नो कार्यादेश अनुसार ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षालाई सघाउने खालका अनुसन्धान गरी नीतिगत सुझाव दिन निर्देशन दिनुका साथै सरकारको लक्ष्य र विकाससँग जोडिएर मन्त्रालय र विश्वविद्यालयसँग समन्वय र संयोजन गरी अनुसन्धान हुनुपर्नेमा जोड दिनुभयो।

सम्माननीय प्रधानमन्त्रीज्यूले अनुसन्धानपछि प्राप्त प्रमाणका आधारमा मात्रै नीति तर्जुमा गर्नुपर्ने बताउनु हुँदै प्रतिष्ठानलाई अनुसन्धान एजेन्डा अब प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नै सबै मन्त्रालयहरूसँग समन्वय गरी मन्त्रिपरिषद्‍बाटै उपलब्ध गराउने परिपाटी अवलम्बन गर्न निर्देशन समेत दिइने बताउनुभयो।

नीति अनुसन्धान प्रतिष्ठानको विशिष्ठ कार्यादेशको बारेमा थप स्पष्ट हुँदै यसको औचित्य झन् बढ्दै गएको वर्तमान सन्दर्भमा प्रतिष्ठानले अबका दिनमा लिनुपर्ने भूमिका, कार्यशैली तथा सरकारले गरेका अपेक्षाका बारेमा प्राप्त सुझाव र निर्देशनबाट प्रतिष्ठानको टोलीले प्रेरणा र थप जिम्मेवारीबोध गरेको छ।  

उपस्थिति

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओली
श्री लीलादेवी गडतौला (मुख्य सचिव, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय)
श्री राम कुमार श्रेष्ठ (सचिव, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय)
श्री विनोद कुँवर (सम्माननीय प्रधानमन्त्रीज्यूको निजी सचिव/ सह सचिव)
श्री किरण पौडेल (सम्माननीय प्रधानमन्त्रीज्यूको जनसम्पर्क सल्लाहकार)
श्री राजेश बज्राचार्य (सम्माननीय प्रधानमन्त्रीज्यूको प्रमुख स्वकीय सचिव)
श्री रोशनी मेचे (सम्माननीय प्रधानमन्त्रीज्यूको स्वकीय सचिव)

नीति अनुसन्धान प्रतिष्ठान
प्रा. डा. लेखनाथ शर्मा (कार्यकारी अध्यक्ष)
डा. दीपक कुमार खड्का (सूचना तथा ज्ञान व्यवस्थापन विभाग प्रमुख)
डा. हरि शर्मा न्यौपाने (अनुसन्धान विभाग प्रमुख)
श्री लक्ष्मण प्रसाद भट्टराई (कार्यालय प्रबन्धक)
डा. मुक्ति राम रिजाल (वरिष्ठ अनुसन्धानकर्ता)
डा. खगनाथ अधिकारी (वरिष्ठ नुसन्धानकर्ता)
डा. कल्पना खनाल (वरिष्ठ अनुसन्धानकर्ता)