संघीय संसदको संयुक्त समिति – राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति – मा माननीय सदस्यज्यूहरूसँग नीति अनुसन्धान प्रतिष्ठानको अन्तर्क्रिया सम्पन्न

September 20, 2024

२०८१ असोज ४

संघीय संसद सचिवालय, सिंहदरबार

संघीय संसदको संयुक्त समिति – राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति – मा माननीय सदस्यज्यूहरूसँग राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वका सन्दर्भमा नेपालमा सार्वजनिक नीति कार्यान्वयनका समस्या, चुनौती र आगामी बाटो विषयमा नीति अनुसन्धान प्रतिष्ठानले एक अन्तर्क्रिया गर्‍यो ।

समितिका सभापति मा. श्री ठाकुर प्रसाद गैरेले समितिको पाँचौँ बैठकको रूपमा सञ्चालन गर्नुभएको सो कार्यक्रममा नीति अनुसन्धान प्रतिष्ठानका कार्यकारी अध्यक्ष प्रा. डा. लेखनाथ शर्माले नेपालमा “सार्वजनिक नीति कार्यान्वयनका समस्या, चुनौती र आगामी बाटो” विषयक एक प्रस्तुति प्रस्तुत गर्नुभएको थियो । प्रस्तुतिमा प्रतिष्ठानको मानव संसाधन, क्रियाकलाप र उपलब्धिको चिनारी सम्बन्धी छोटो खण्डपछि सार्वजनिक नीतिका सैद्धान्तिक चिनारी र नेपालमा सार्वजनिक नीति कार्यान्वयनमा पाइने साझा समस्याहरू, चुनौती र आगामी बाटोबारेमा प्रस्तुति एवं अन्तिम खण्डमा संसदीय समितिहरूको काम बारे अन्तर्राष्ट्रिय अभ्यास, नेपालको संसदीय समितिहरूको निर्देशनहरूको कार्यान्वयनको अवस्था र समितिहरूको प्रभावकारिता वृद्धि गर्ने उपायहरू बारे अनुसन्धान नतिजाहरू प्रस्तुत गरिएको थियो। प्राध्यापक शर्माले संसदलाई प्रतिष्ठानले आवश्यकता अनुसारको र सम्भव अनुसन्धान सहायता प्रदान गर्न प्रतिष्ठानभित्रै संसद अनुसन्धान सहायता डेस्कजस्तो संरचना बनाउन सकिन्छ कि भन्ने सम्भावनाबारे छलफल अघि बढाउनुपर्ने विचार पनि राख्नुभयो ।

प्रस्तुति पछि माननीय सदस्यहरूले विभिन्न जिज्ञासाहरू र अनुरोधहरू राख्नुभएको थियो । माननीय सदस्यहरूका जिज्ञासामा नीति अनुसन्धान प्रतिष्ठान र विश्वविद्यालयहरूको सम्बन्ध, नीति अनुसन्धान प्रतिष्ठान र राष्ट्रिय योजना आयोगको सम्बन्ध, संसद र सांसदहरूसँग प्रतिष्ठानको संलग्नता, सार्वजनिक नीतिको रूपरेखा र प्राथमिकीकरण, संघ र प्रदेशको आदर्श सम्बन्धबारेमा अनुसन्धान एवं प्रतिष्ठानभित्र समावेशिताको अवस्था र विविधता सम्बन्धी प्रतिष्ठानको आदर्श आदि विषयमा रहेको थियो । राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिले आ. व. २०८१/८२ को लागि बनाइरहेको वार्षिक कार्ययोजनामा पृष्ठपोषण दिन र सहकार्य जारी राख्न पनि माननीय सदस्यहरूले अनुरोध गर्नुभयो। सभापति मा. श्री ठाकुर प्रसाद गैरेले नीति अनुसन्धान प्रतिष्ठानको प्रस्तुति निकै लाभदायी भएको र प्रतिष्ठानमा संसद अनुसन्धान सहायता डेस्क राख्ने विचारमा विशेष चाख व्यक्त गर्नुभयो।

उपस्थिति:

राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति (संयुक्त)

सभापति मा. श्री ठाकुर प्रसाद गैरे
मा. श्री प्रभु हजरा
मा. श्री शान्ती वि.क.
मा. श्री सरस्वती सुब्बा
मा. श्री लाल प्रसाद साँवा लिम्बु
मा. श्री हितराज पाण्डे
मा. श्री दिलेन्द्र प्रसाद बडू
मा. श्री मदन कुमारी शाह (गरिमा)
मा. श्री देव प्रसाद तिमलसेना
मा. श्री प्रतिमा गौतम
मा. श्री मोहम्मद खालिद
श्री सुरेन्द्र अधिकारी (सचिव)

नीति अनुसन्धान प्रतिष्ठान

प्रा. डा. लेखनाथ शर्मा (कार्यकारी अध्यक्ष)
डा. पुष्पराज राजकर्णिकार (कार्यसमिति सदस्य)
प्रा. डा. अरबिन्द कुमार केशरी (कार्यसमिति सदस्य)
डा. श्यामु थापा मगर (कार्यसमिति सदस्य)
डा. इन्द्र कुमारी अधिकारी (कार्यसमिति सदस्य)
डा. दीपक कुमार खड्का (सूचना तथा ज्ञान व्यवस्थापन विभाग प्रमुख)
लक्ष्मण प्रसाद भट्टराई (कार्यालय प्रबन्धक)
डा. खगनाथ अधिकारी (वरिष्ठ अनुसन्धानकर्ता)
बिमल चन्द्र शर्मा (पुस्तकालय व्यवस्थापन संयोजक)

यस अन्तरक्रिया कार्यक्रमको फोटोहरुका लागि कृपया यहाँ क्लिक गर्नु होला