विश्व बहुसङ्कटको वर्तमान युगमा नेपालको जलवायु परिवर्तन तथा वातावरण व्यवस्थापनका हाँकहरू
विश्व बहुसङ्कटको वर्तमान युगमा नेपालको जलवायु परिवर्तन तथा वातावरण व्यवस्थापनका हाँकहरू
मिति: १६ कार्तिक २०७९
स्थान: नीति अनुसन्धान प्रतिष्ठानको कार्यालय, नारायणहिटी, काठमाडौं
नेपाल सरकारलाई नीति अनुसन्धानबाट सिर्जित प्रामाणिक र गुणस्तरीय ज्ञानबाट प्रमाणमा-आधारित र प्रमाण-सुसूचित नीति निर्माण र परिमार्जनमा सहयोग गर्न नेपाल सरकारद्वारा स्वायत्त विशेषज्ञ समूह (थिङ्क ट्याङ्क) को रूपमा नीति अनुसन्धान प्रतिष्ठान गठन गरिएको हो । प्रतिष्ठानले सार्वजनिक नीति सान्दर्भिक विषयहरूमा अध्ययन अनुसन्धान, सम्प्रेषण, नीति संवाद, नीति प्रवचन लगायतका गतिविधिहरू गर्दै आएको छ ।
यसै सन्दर्भमा कार्तिक १६ गते प्रतिष्ठानले वातावरण र विकासको क्षेत्रमा देखिएका जटिल, बहुआयामिक र अन्तर सम्बन्धित समस्याहरू र यिनका सम्बोधनका विकल्पहरूबारे नीति सम्बादको आयोजना गर्यो l प्रतिष्ठानका कार्यकारी अध्यक्ष डा. विष्णु राज उप्रेतीको अध्यक्षता र सहजीकरणमभा सम्पन्न उक्त सम्बादमा प्राकृतिक स्रोत तथा जलवायु विशेषज्ञ तथा प्रधानमन्त्रीका जलवायु परिवर्तन सल्लाहकार डा. माधव कार्की प्रमुख वक्ता त प्रस्तोता हुनुहुन्थ्यो । कार्यक्रममा मन्त्रालय, विश्वविद्यालयका प्राज्ञहरू, कानुन व्यवसायी, पत्रकार, अनुसन्धानकर्ताहरू, अर्थशास्त्रीलगायतको उपस्थिति रहेको थियो ।
आफ्नो प्रस्तुतिमा डा. कार्कीले बहुसङ्कटको बारेमा छोटो परिचय दिनुभयो र प्रणालीगत जोखिम र बहुसङ्कटको भिन्नताको बारेमा विचारहरू राख्नुभयो । विश्वव्यापी प्रणालीहरूमा मानवताको सम्भावनालाई ह्रास गर्ने गरी सङ्कट देखा पर्न थालेपछि विश्वव्यापी बहुसङ्कटको सुरुवात हुने बताउंदै उहाँले उच्चस्तरको अन्तरसम्बन्धका कारणले अन्तरसम्बन्धसित सङ्कटहरू भिन्दाभिन्दै सङ्कटहरूको जोडभन्दा कैयौँ गुणा बढी हानिकारक हुने उल्लेख गर्नुभयो । जोखिम र सङ्कटको परम्परागत अध्ययनहरूभन्दा फरक प्रकारको विश्लेषणको आवश्यकता पर्ने भएकोले विश्वव्यापी बहुसङ्कट सम्बन्धी ज्ञानमा कमी देखिएको उहाँको ठम्याइ थियो।
प्रणालीगत जोखिम र बहुसङ्कट बिचको भिन्नतालाई उजागर गर्दै उहाँले वर्तमान समयमा पृथ्वीको वायुमण्डल, जैविक क्षेत्र, इकोसिस्टम, बोटबिरुवा र जनावरका प्रजातिका लगभग सबै सूचकहरू नकारात्मक रहेको उल्लेख गर्नुभयो । उहाँले वातावरणीय परिवर्तनहरूले आर्थिक लागतहरू र वार्षिक लाखौँ अकाल मृत्युहरू निम्त्याएर कठिनरूपमा प्राप्त विकास लाभहरूलाई कमजोर बनाएको उल्लेख गर्दै स्थिरता हासिल गर्न पृथ्वीका वातावरणीय आपत्कालीन अवस्थाहरू, मानव हित, दिगो विकास लक्ष्यलगायत अन्तरसम्बन्धित मुद्दाहरूलाई एकसाथ सम्बोधन गरिनु आवश्यक हुने बताउनुभयो । बढ्दो मानव आवश्यकताहरू पूरा गर्न खाद्य, पानी र ऊर्जा प्रणालीहरू समान, लचिलो र पर्यावरण-मैत्री तरिकामा रूपान्तरण गर्न आवश्यक रहेकोमा पनि जोड दिनुभयो ।
उहाँले अनुकूलन र न्यूनीकरण बिचको खाडललाई कम गर्न दिगो विकास लक्ष्यतर्फको रूपान्तरणकारी मार्गको रूपमा निम्न छ वटा अभ्यासहरूमा बदलाव ल्याउन आवश्यक रहेको बताउनु भयो:
१.पुँजीदेखि क्षमतासम्म
२.वस्तुदेखि सम्बन्धसम्म
३.खुला प्रणालीदेखि बन्द प्रणालीसम्म
४.परिणामदेखि प्रक्रियासम्म
५.सामान्य हस्तक्षेपदेखि सन्दर्भ संवेदनशीलतासम्म
६.रेखीयदेखि जटिल कारकप्रणालीसम्म
आफ्नो विचार राख्दै तिर्थ राज ढुङ्गानाले पारिस्थितिक प्रणाली आधारित अनुकूलन गरिनुपर्ने बताउनुभयो भने डा. विक्रम तिमल्सिनाले जलवायु परिवर्तनको लागि छुट्टाएको अनुदान प्राप्त गर्ने प्रक्रिया सशक्त बनाउनु पर्नेमा जोड दिनु भयो । त्यसै डा. यमुना घलेले जलवायु परिवर्तनको बारेमा जनसमुदायमा नकारात्मक सोचाइ रहेकोले शिक्षा प्रणालीमार्फत जलवायु परिवर्तनको सकारात्मक परिणामको बारेमा ज्ञान दिन आवश्यक रहेको बताउनु भयो । नेपाल जस्तो देशले न्यूनीकरणमा भन्दा अनुकूलनमा बढी जोड दिनु पर्ने उहाँको सुझाव थियो ।
प्रचलित ऐनहरू अपर्याप्त रहेको बताउंदै सञ्जय अधिकारीले जलवायु परिवर्तनको लागि छाता ऐन आवश्यक रहेकोमा जोड दिनु भयो l त्यस्तै, मधुसूदन अधिकारीले जलवायु परिवर्तन सम्बन्धी काम गर्न छुट्टै जिम्मेवार संस्थाको स्थापन गरिनु पर्ने बताउनु भयो ।जलवायु परिवर्तन र विपद् व्यवस्थापन विभागबिचमा समन्वय हुन नसकेको उल्लेख गर्दै प्रदीप कोइरालाले यी दुईबिच समन्वय विस्तार गरिनु जरुरी छ भन्नु भयो ।
सिन्धु प्रसाद ढुंगानाले वातावरण न्याय र जलवायु न्यायमा आदिवासी जनजातिको अधिकार पनि समेटिनु आवश्यक हुने भन्दै विश्व बहुसंकटको समयमा वातावरणीय र जलवायु परिवर्तनका चुनौतीहरूलाई सम्बोधन गर्नका लागि स्थानीय ज्ञान र सिप पनि प्रयोगमा ल्याइनु पर्नेमा जोड दिनु भयो ।
राधा वाग्लेले जलवायु परिवर्तनको चुनौतीको सामना गर्न सकिने उपायहरूको बारेमा बोल्दै अनुकूलनका लागि नेपालले पाउनुपर्ने अनुदान बढाउनका लागि थप पहलहरू गरिने पर्ने विचार राख्नुभयो ।
अन्त्यमा डा. कार्कीले सल्लाहकारको हैसियतले सम्बादमा आएका सल्लाह-सुझावहरूका बारेमा सकारात्मक पहलहरू गर्ने प्रतिबद्धता जनाउनु भयो ।