भारत-नेपाल रणनीतिक हितमा बदलिएका अवधारणाहरू विषयक प्रवचन र छलफल कार्यक्रम

April 29, 2025

२०८२ वैशाख १६

नीति अनुसन्धान प्रतिष्ठान, नारायणहिटी

नीति अनुसन्धान प्रतिष्ठानमा यही २९ अप्रिल २०२५ (१६ वैशाख २०८२) का दिन “भारत-नेपाल रणनीतिक हितमा बदलिएका अवधारणाहरू” शीर्षकमा एक प्रवचन र छलफल कार्यक्रमको आयोजना गरियो। उक्त कार्यक्रममा वक्ताको रूपमा प्रा. डा. संगीता थपलियाललाई आमन्त्रित गरिएको थियो। सन् २००८ देखि नयाँ दिल्लीस्थित जवाहरलाल नेहरु विश्वविद्यालयसँग आबद्ध रहनुभएको उहाँ हाल भारतीय सांस्कृतिक सम्बन्ध परिषद् (ICCR) को तर्फबाट काठमाडौँ विश्वविद्यालयमा चेयरको रूपमा कार्यरत हुनुहुन्छ । अन्तर्राष्ट्रिय सम्बन्धमा विशेषज्ञता हासिल गर्नुभएकी प्रा. थापलियालको रणनीतिक अध्ययन, ट्रान्स-हिमालयन सञ्जाल, जल सुरक्षा आदि क्षेत्रहरूमा विशेष रुचि र दखल रहेको छ।

प्रवचन कार्यक्रमको सञ्चालन नीति अनुसन्धान प्रतिष्ठानको परराष्ट्र नीति तथा रणनीतिक मामिला केन्द्रका वरिष्ठ अनुसन्धानकर्ता डा. खगनाथ अधिकारीले गर्नुभएको थियो। स्वागत मन्तव्य दिँदै प्रतिष्ठानका कार्यकारी अध्यक्ष प्रा. डा. लेखनाथ शर्माले प्राचीन समयदेखि हालसम्म नेपाल-भारत सम्बन्धमा भएका परिवर्तन र तिनको प्रवृत्तिहरूका बारेमा आफ्नो चासो व्यक्त गर्नुभयो ।

प्रा. थापलियालले अन्तर्राष्ट्रिय सम्बन्धमा रणनीतिले सुरक्षा र सैनिक विषयलाई मात्र नभई सामाजिक-राजनीतिक आयामलाई समेत समेट्छ भन्दै विद्वतवर्ग तथा अनुसन्धानकर्ताहरूले यस सम्बन्धी अवधारणा निर्माण गर्दा विद्यमान सन्दर्भलाई उचित तवरले विश्लेषण गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो।

नेपाललाई “दुई ढुङ्गाबिचको तरुल” भनेर चिनाउने ऐतिहासिक सन्दर्भ प्रस्तुत गर्दै, भारत र चीनजस्ता दुई ठुला राष्ट्रहरूको बिचमा अवस्थित भूपरिवेष्टित राष्ट्रको रूपमा नेपाललाई कसरी बुझिएको थियो भन्ने विषयमा प्रा. थापलियालले प्रकाश पार्नुभयो । वहाँले नेपाल-भारत सम्बन्धको अवधारणामा आएको परिवर्तनसँगै नेपाललाई भूपरिवेष्टित मुलुकको रूपमा मात्र सीमित नराखी उत्तरी र दक्षिणी अर्थतन्त्रको पुलको रूपमा स्थापित गर्ने अवधारणाको विकास हुँदै गएको उल्लेख गर्नुभयो। साथै, उहाँले पृथ्वीनारायण शाहको ‘दिव्य उपदेश’ वर्तमान परिप्रेक्ष्यमा समेत सान्दर्भिक रहेको विचार प्रकट गर्नुभयो ।

अन्तर्राष्ट्रिय सम्बन्धका बदलिँदा प्रवृत्तिहरूको सन्दर्भमा अनुसन्धानकर्ताहरूले: नेपालले भूपरिवेष्टित राष्ट्रको रूपमा अपनाउनुपर्ने रणनीति; आन्तरिक मामिलाहरू र विदेश नीतिले एक अर्कोमा पार्ने प्रभावहरू; नेपाल र भारतको आपसी लाभ सुनिश्चितताका लागि विवाद समाधानमा समन्वयको आवश्यकता जस्ता विषयमा शोध गर्नुपर्ने उहाँको तर्क रहेको थियो ।

छलफलको क्रममा डा. खगनाथ अधिकारीले भारत-नेपाल सम्बन्धको ऐतिहासिक पृष्ठभूमिमा आधारित केही महत्त्वपूर्ण प्रकाशनहरूको बारेमा उल्लेख गर्नुभयो । नीति अनुसन्धान प्रतिष्ठानका अनुसन्धानकर्ता र इन्टर्नहरूबाट विशेष गरी नेपाल-भारत सम्बन्धका कठिन पक्षहरू, हालका रणनीतिक चासोहरू तथा अन्तर्राष्ट्रिय सम्बन्ध अध्ययन गर्ने अनुसन्धान विधि सम्बन्धी प्रश्नहरू उठाइएका थिए।

कार्यक्रमको समापनमा कार्यकारी अध्यक्ष प्रा. डा. लेखनाथ शर्माले प्रा. थापलियाललाई उहाँको विचारशील प्रस्तुति र महत्त्वपूर्ण विचारहरूको लागि हार्दिक आभार व्यक्त गर्नुभयो।

उपस्थिति
प्रा. डा. लेखनाथ शर्मा (कार्यकारी अध्यक्ष)
लक्ष्मण प्रसाद भट्टराई (कार्यालय प्रबन्धक)
डा. खगनाथ अधिकारी (वरिष्ठ अनुसन्धानकर्ता)
डा. हरि शर्मा न्यौपाने (वरिष्ठ अनुसन्धानकर्ता)
डा. दीपक कुमार खड्का (वरिष्ठ अनुसन्धानकर्ता)
डा. मुक्तिराम रिजाल (वरिष्ठ अनुसन्धानकर्ता)
डा. मोहन कुमार शर्मा (वरिष्ठ अनुसन्धानकर्ता)
डा. गिरीराज शर्मा (अनुसन्धानकर्ता)
अशोक पाण्डे (अनुसन्धानकर्ता)
डा. हरिप्रकाश चन्द (अनुसन्धानकर्ता)
डा. सुवास अधिकारी (अनुसन्धानकर्ता)
डा. झम कुमार विश्वकर्मा (सह-अनुसन्धानकर्ता)
गोपाल आचार्य (सह-अनुसन्धानकर्ता)
डा. प्रभातराज दाहाल (सह-अनुसन्धानकर्ता)
रिजा मानन्धर (विश्लेषक)
सोनिया बस्याल (विश्लेषक)
बिमल चन्द्र शर्मा (पुस्तकालय व्यवस्थापन संयोजक)
पर्वत भट्टराई (वरिष्ठ सहायक)
गिता न्यौपाने (वरिष्ठ सहायक)
मिलन श्रेष्ठ (वरिष्ठ सहायक)
आयुष्का के.सी.(इन्टर्न)
आशिष भण्डारी (इन्टर्न)
कुमारी अलिका (इन्टर्न)
जुना श्रेष्ठ (इन्टर्न)
बलिहाङ लिम्बु (इन्टर्न)
विजय कोइराला (इन्टर्न)
स्नेही रिजाल (इन्टर्न)