
पर्यटन नीति, २०८१ को मस्यौदामा पृष्ठपोषणको लागि सार्वजनिक नीति संवाद सम्पन्न
२०८१ फागुन १२
नीति अनुसन्धान प्रतिष्ठान, नारायणहिटी
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले परिवर्तित शासकीय व्यवस्था अनुकूल बनाउन, आन्तरिक र वैदेशिक लगानी आकर्षण गर्न, पर्यटकको रुचि र पर्यटकीय प्रविधिमा आएको परिवर्तन सम्बोधन गर्न, पर्यटकीय क्षेत्रमा निजी क्षेत्रको भूमिकालाई प्रवर्द्धन तथा प्रोत्साहन गर्दै नेपालको पर्यटन क्षेत्रलाई नयाँ उचाइमा पुर्याउन र आर्थिक समृद्धिको आधारशिला तयार गर्न साबिकको नीति प्रतिस्थापन गर्ने हेतुले “पर्यटन नीति, २०८१”, को मस्यौदा तयार गरी पृष्ठपोषणको लागि नीति अनुसन्धान प्रतिष्ठानलाई अनुरोध गरेको छ। उक्त मस्यौदा उपर पृष्ठपोषणको लागि विषयसँग सम्बन्धित सरोकारवाला र विज्ञहरूको सहभागितामा यही २०८१ फागुन १२ गते नीति अनुसन्धान प्रतिष्ठानमा एक सार्वजनिक नीति संवाद कार्यक्रम आयोजना गरिएको थियो।
नीति अनुसन्धान प्रतिष्ठानका कार्यकारी अध्यक्ष प्रा. डा. लेखनाथ शर्माको मन्तव्यबाट सुरुवात भएको उक्त कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको तर्फबाट नीति मस्यौदाको बारेमा सहभागीहरूमा जानकारी प्रदान भएको थियो। मन्त्रालयका सह-सचिव श्री इन्दु घिमिरेले गार्हस्थ्य उत्पादनमा पर्यटनले गर्ने योगदान, पर्यटन क्षेत्रको उतारचढाव, पर्यटन सत्रको परिवर्तित आयाम. कोभिड पछिको पर्यटन अवस्थालाई मध्य नजर गर्दै विद्यमान नीतिको सबल पक्षलाई समेत समेटी नयाँ नीति मस्यौदा निर्माण गरिएको जानकारी गराउँदै नीति संवादबाट महत्त्वपूर्ण सुझाव आउने अपेक्षा व्यक्त गर्नुभयो। त्यसपछि प्रस्तुत मस्यौदामा भएका विषयवस्तुका बारेमा नीति अनुसन्धान प्रतिष्ठानका अनुसन्धानकर्ता डा. गिरि राज शर्माले सङ्क्षिप्त प्रस्तुतीकरण गर्नुभएको थियो । पर्यटनविज्ञ श्री रमेश कुमार अधिकारीले उक्त नीतिको मस्यौदाको समीक्षा गर्नुभएको थियो ।
उक्त नीति संवादमा उपस्थित सरोकारवालाहरूले आफ्नो धारणा राख्दै संस्कृति, परम्पराको संरक्षण र प्रवर्द्धन गर्न स्थानीय सरकारलाई नै जिम्मेवार बनाउनु पर्ने, प्रशासनिक हैरानी, असुरक्षित आकाश, आपराधिक पर्यटकको पहिचान जस्ता कार्यलाई मध्यनजर गर्नुपर्ने, नीति मस्यौदामा उल्लेख भएका संस्थामा मात्र सीमित नभई पर्यटन सम्बन्धी अन्य संस्थाहरूलाई पनि प्रोत्साहन गर्नुपर्ने, कार्यनीतिमा जीवन्त कला प्रदर्शनी र सूचना केन्द्रहरू व्यवस्थापन थप गर्नुपर्ने, साधारण बिक्री एजेन्ट (General Sales Agent) र यात्रीसम्बन्धी बिक्री एजेन्ट (Passenger Sales Agent) को क्षेत्राधिकार स्पष्ट पार्नुका साथै मूल्य अभिवृद्धि कर, प्रस्थान कर लगायतका विषयहरू पर्यटन नीतिको मस्यौदामा समावेश गर्नुपर्ने लगायतका सुझावहरू प्रस्तुत गरेका थिए।
संवाद कार्यक्रम सञ्चालन गर्नुभएका प्रतिष्ठानका वरिष्ठ अनुसन्धानकर्ता डा. खगनाथ अधिकारीले कार्यक्रमको अन्त्यमा छलफलको सार प्रस्तुत गर्नु भएको थियो। उक्त संवादबाट प्राप्त सुझावहरूको अलावा थप अध्ययन समेतको आधारमा नीति अनुसन्धान प्रतिष्ठानले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय समक्ष एकीकृत रूपमा सुझाव पेस गर्नेछ।
उपस्थिति
अतिथिहरू
इन्दु घिमिरे (सह-सचिव, संस्कृत, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय)
गौतम प्रसाद लासिवा (सहायक निर्देशक, भक्तपुर नगरपालिका)
रमेश कुमार अधिकारी (बाह्य समीक्षक)
युविका भण्डारी (महा-सचिव, नेपाल एसोशियशन अफ टूर एन्ड ट्राभल एजेन्टस्)
शिवराज रेग्मी (उप-सचिव, संस्कृत, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय)
रघुनाथ बिडारी (कार्यकारी प्रमुख, नेपाल एसोशियशन अफ टूर एन्ड ट्राभल एजेन्टस्)
माधव अधिकारी (शाखा अधिकृत, संस्कृत, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय)
रमेश राज पौडेल (कार्यकारी अध्यक्ष, पाटन सङ्ग्रहालय)
शंकर भण्डारी (महा-सचिव, होटल व्यवसायी महासङ्घ नेपाल)
सोम सापकोटा (समिति अध्यक्ष, गैर आवासीय नेपाली सङ्घ)
शरद खत्री (पर्यटन अधिकृत, भक्तपुर नगरपालिका)
विनोद नेपाल (शाखा अधिकृत, नेपाल पर्यटन तथा होटेल व्यवस्थापन प्रतिष्ठान)
उत्तम प्रसाद देवकोटा (महानिर्देशक, नेपाल हस्तकला महासंघ)
शरद कुमार दाहाल (महासचिव, रेस्टुरेन्ट एण्ड बार एसोसिएसन नेपाल)|
टेक बहादुर महत (कार्यालय प्रमुख, होटेल एसोसिएसन नेपाल)
सङ्घर्ष विष्ट (प्रमुख, रेस्टुरेन्ट एण्ड बार एसोसिएसन नेपाल)
विनायक शाह (सभापति, होटेल एसोसिएसन नेपाल)
नीति अनुसन्धान प्रतिष्ठान
प्रा. डा. लेखनाथ शर्मा (कार्यकारी अध्यक्ष)
डा. खगनाथ अधिकारी (वरिष्ठ अनुसन्धानकर्ता)
डा. दीपक कुमार खड्का (वरिष्ठ अनुसन्धानकर्ता)
लक्ष्मण भट्टराई (कार्यालय प्रबन्धक)
डा. गिरि राज शर्मा (अनुसन्धानकर्ता)
डा. मनिता कुसी (सह-अनुसन्धानकर्ता)
बिमल चन्द्र शर्मा (पुस्तकालय व्यवस्थापन संयोजक)
अश्मिता रिजाल (परामर्शदाता)