नेपाल सरकारको मन्त्रालयहरूका नीति तथा योजना हेर्ने महाशाखा/शाखाका प्रमुखहरूसँगको अन्तर्क्रिया कार्यक्रम
२०८० साउन ११
नीति अनुसन्धान प्रतिष्ठान, नारायणहिटी
नीति अनुसन्धान प्रतिष्ठानले नेपाल सरकारको सङ्घीय मन्त्रालयहरू सहित मुख्य सङ्घीय निकायका नीति तथा योजना हेर्ने महाशाखा/शाखाका प्रमुखहरूसँग एकदिने अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ । २०८० साउन १६ गते सम्पन्न यस कार्यक्रमको मुख्य उद्देश्य प्रतिष्ठानसँग मुख्य सरोकार राख्ने सङ्घीय मन्त्रालय र निकायहरूलाई प्रतिष्ठानका गतिविधिहरू जानकारी गराई सुधारका लागि पृष्ठपोषण लिनु, नेपाल सरकारको नीतिगत तहमा भइरहेका प्रयासहरूबारे आवश्यक जानकारी लिनु, नेपाल सरकारको नीतिगत आवश्यकता तथा समसामयिक नीतिगत परिवेशमा प्रतिष्ठानको योगदान सम्बन्धमा पृष्ठपोषण लिनु, प्रतिष्ठानका अनुसन्धान परियोजनाहरूमा सहकार्यको वातावरणबारे छलफल गर्नु, प्रतिष्ठानको आगामी कार्यदिशाबारे पृष्ठपोषण लिनु र नेपाल पब्लिक पोलिसी रिभ्यू जर्नलका सम्बन्धमा जानकारी गराई आपसी सहकार्यको सम्भाव्यता खोजी गर्नु रहेको थियो ।
कार्यक्रमको अध्यक्षता गर्नुभएको प्रतिष्ठानका कार्यकारी अध्यक्ष प्रा. डा. लेखनाथ शर्माले कार्यक्रमको आरम्भमा आमन्त्रित कर्मचारीहरूलाई स्वागत गर्दै कार्यक्रमको औचित्यबारे प्रष्ट पार्नुभयो भने अनुसन्धान विभाग प्रमुख डा. हरि शर्मा न्यौपानेले प्रतिष्ठानको संरचना, मानव संसाधन, मुख्य कार्यक्रमहरू, हालसम्मको मुख्य उपलब्धि, आगामी योजना र आजको छलफलका लागि निर्धारण गरिएका विषयहरूको बारेमा एउटा छोटो प्रस्तुतिका साथ जानकारी दिनुभयो। प्रतिष्ठानका विश्लेषक गोपाल आचार्यले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो ।
कार्यक्रममा सहभागी कर्मचारीहरूले आ-आफ्नो मन्त्रालयगत आवश्यकताका आधारमा विभिन्न अनुसन्धानका विषयहरू उठाउनु भयो । त्यसमध्ये अधिकांशले आ-आफ्ना मन्त्रालयका पाँच वर्ष अवधि पूरा भइसकेको क्षेत्रगत सार्वजनिक नीतिहरूको कार्यान्वयनको अवस्था पुनरावलोकन र नीति समीक्षा गर्नुपर्नेमा जोड दिनुभएको थियो । यसका साथै, नीति अनुसन्धान प्रतिष्ठानले आफैँले पनि प्रतिष्ठानका सुझावहरू मन्त्रालयले कति ग्रहण गरे भन्ने विषयमा समेत समीक्षा गर्नुपर्ने बारेमा पनि कार्यक्रममा चर्चा भयो । नीति बनाउन चार-पाँच वर्ष लाग्ने अवस्था, क्षेत्रगत नीति र ऐन एक आपसमा सम्बन्धित भएता पनि यिनको तर्जुमाका चरण तथा संलग्न/जिम्मेवार संयन्त्र तथा अन्तर्यका विषयवस्तु फरक हुने गरेको लगायतका महत्त्वपूर्ण विषयहरूको बारेमा पनि प्रतिष्ठानले समीक्षा गर्नुपर्ने सुझावहरू कार्यक्रमबाट प्राप्त भयो । मन्त्रालयको अधिकतम ध्यान जनशक्ति व्यवस्थापन लगायत अन्य प्रशासनिक कामहरूमा भएकोले अनुसन्धानमा धेरै समय दिन नसक्ने सन्दर्भमा नीति अनुसन्धान प्रतिष्ठानको भूमिका मन्त्रालयहरूका लागि महत्त्वपूर्ण रहेको सहभागीहरूले धारणा व्यक्त गर्नुभयो।
अन्तरविधागत र समय सान्दर्भिक विषयहरूमा नीति अनुसन्धान प्रतिष्ठानबाट बढी अनुसन्धान हुनु पर्ने कुरा पनि कार्यक्रममा उठ्यो । साथै, आगामी वर्षमा के-कस्तो अनुसन्धान गर्ने भनेर नीति अनुसन्धान प्रतिष्ठानले एउटा योजना नै बनाएर सम्बन्धित मन्त्रालयसँग पुनः विस्तृत छलफल गरी योजनालाई अन्तिम रूप दिनु उपयुक्त हुने धेरैको धारणा थियो । सूचना प्रविधि दशक मनाउने नेपाल सरकारको निर्णयमा नीतिगत फ्रेमवर्क बनाउन नीति अनुसन्धान प्रतिष्ठानसँग सहकार्य गर्न सकिने कुरामा केही अधिकारीहरूको जोड थियो भने मन्त्रालय आफैले समीक्षा गरिरहेको नीतिहरूमा प्रतिष्ठानको पृष्ठपोषण अपेक्षा गरिएको जानकारी दिइएको थियो ।
प्रतिष्ठानका कार्यकारी अध्यक्ष प्रा. डा. लेखनाथ शर्माले अन्तर्क्रियाबाट नीति अनुसन्धानका लागि धेरै विषयहरू प्राप्त भएको जानकारी गराउदै कार्यक्रममा सक्रिय सहभागिताको लागि धन्यवाद ज्ञापन गर्नु भयो । प्रतिष्ठानका अनुसन्धाताहरूले आफ्ना केन्द्र सम्बद्ध मन्त्रालय र निकायहरूसँग नियमित सम्पर्क बढाउने तथा अनुसन्धानका विषयहरूबारे अर्को चरणको छलफल पनि गर्नुपर्ने देखिएको भन्दै वहाँले सबै मन्त्रालयहरूलाई चालु वर्षका प्राथमिकताका कार्यक्रमहरू लिखित रूपमा प्रतिष्ठानलाई उपलब्ध गराइदिन सबैलाई आग्रह पनि गर्नुभयो ।
उपस्थिति
आमन्त्रित अतिथिहरू:
- दामोदर वाग्ले (भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय)
- पवन अर्याल (उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय)
- जानुका सुवेदी (महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय)
- गौरीशंकर पाण्डे (शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय)
- भोजराज घिमिरे (संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय)
- लक्ष्मण खनाल (परराष्ट्र मन्त्रालय)
- सुमन सालिके (शहरी विकास मन्त्रालय)
- राम कृष्ण अर्याल (सञ्चार तथा सूचना प्रविधि मन्त्रालय)
- डा. चन्द्र ढकाल (कृषि तथा पशुपन्छी विकास मन्त्रालय)
- रामकृष्ण पाठक (कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय)
- सुधा सुवेदी (खानेपानी मन्त्रालय)
- बद्रीराज ढुंगाना (वन तथा वातावरण मन्त्रालय)
नीति अनुसन्धान प्रतिष्ठानका सहभागीहरू:
- प्रा. डा. लेखनाथ शर्मा (कार्यकारी अध्यक्ष)
- डा. हरि शर्मा न्यौपाने (अनुसन्धान विभाग प्रमुख)
- डा. मुक्ति राम रिजाल (वरिष्ठ अनुसन्धानकर्ता)
- डा. कल्पना खनाल (वरिष्ठ अनुसन्धानकर्ता)
- डा. खगनाथ अधिकारी (वरिष्ठ नुसन्धानकर्ता)
- डा. गिरीराज शर्मा (अनुसन्धानकर्ता)
- डा. मनिता कुसी (सह-अनुसन्धानकर्ता)
- डा. झम कुमार विश्वकर्मा (सह-अनुसन्धानकर्ता)
- गोपाल आचार्य (विश्लेषक)
- रीजा मानन्धर (विश्लेषक)
- बिमल चन्द्र शर्मा (पुस्तकालय व्यवस्थापन संयोजक)
- सन्जु सरबरिया (वरिष्ठ सहायक)
- ज्योती लुइँटेल (इन्टर्न)
- सोनिया बस्याल (इन्टर्न)
- कञ्चन गौतम (इन्टर्न)
- डेमिज महर्जन (इन्टर्न)
- जेनिश महर्जन (इन्टर्न)