
नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको सार्वजनिक नीति नवप्रवर्तन प्रशिक्षणमा प्रतिष्ठानको सहभागिता एवं सहकार्य
चैत २२, २०८१
नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान, ललितपुर
नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान (स्टाफ कलेज) को आयोजना र नीति अनुसन्धान प्रतिष्ठानको सहकार्यमा “सार्वजनिक नीतिमा नवप्रवर्तन: प्रमाणको प्रयोग (Innovating Public Policy: Use of Evidence (InnoPolE)” विषयक सात-दिने पेशागत प्रशिक्षण कार्यक्रम हालै सम्पन्न भएको छ । यही २०८१ चैत १४-२२ गतेसम्म सञ्चालित उक्त तालिममा नेपाल सरकारका सङ्घीय मन्त्रालयहरू सहित विभिन्न २१ सङ्घीय निकायका २९ जना अधिकृत द्वितीय श्रेणी र सो सरहका कर्मचारीहरूको सहभागिता रहेको थियो ।
वैज्ञानिक प्रमाणको प्रयोगमार्फत नीतिनिर्माणमा नवप्रवर्तनशील दृष्टिकोणहरू लागु गर्नका लागि मध्यम तहका सरकारी अधिकृत कर्मचारीहरूको क्षमता अभिवृद्धि गर्ने मुख्य उद्देश्य रहेको यस कार्यक्रममा दुई-दिने सैद्धान्तिक कक्षा, दुई-दिने स्थलगत अध्ययन, दुई-दिने नीति सङ्क्षेपको तयारी र एक-दिने प्रस्तुतीकरण तथा पृष्ठपोषण कार्यक्रम सञ्चालन गरिएको थियो । सार्वजनिक नीतिको दर्शनशास्त्र, नीतिनिर्माणको प्रणालीगत दृष्टिकोण र परिवर्तनको सिद्धान्त, नीति निर्माणमा वैज्ञानिक प्रमाण, प्रमाण-सुसूचित नीति निर्माण, र नीति सङ्क्षेपमार्फत नीतिको प्रवर्द्धन जस्ता मुख्य विषयवस्तु समावेश गरिएको उक्त कार्यशालालाई विज्ञहरू विष्णुप्रसाद लम्साल, डा. दीपक कुमार खड्का, त्रिलोचन पोखरेल, तुलसी शरण सिग्देल, र त्रिलोचन पौड्यालले सहजीकरण गर्नुभएको थियो । डा. खड्काले “पद्धतिबद्ध नीति निर्माण विधि र रूपान्तरणको सिद्धान्त” विषयक प्रशिक्षण दिनुभएको थियो।
प्रशिक्षणका क्रममा सहभागीहरूले भक्तपुर नगरपालिकालाई स्मार्ट शहरका रूपमा विकास गर्न सकिने सम्भावना सम्बन्धमा पाँच समूहमा रहेर पाँचवटा नीति सङ्क्षेपहरूको तयारी गरेका छन् । यस क्रममा नीति अनुसन्धान प्रतिष्ठानका अनुसन्धानकर्ताहरू डा. मनिता कुसी, डा. प्रभातराज दाहाल, डा. महेश्वर गिरी, गोपाल आचार्य र रीजा मानन्धरले प्रत्येक समूहको नेतृत्व गर्दै समूहकार्यलाई सहजीकरण गर्नुभएको थियो भने विषयविज्ञहरू मणिराम गेलाल, डा. तुलसी प्रसाद थपलिया, उमेश कुमार गुप्त, दिपेश बिष्ट र आदेश खड्काले हरेक समूहलाई अनुशिक्षण गर्नुभएको थियो ।
प्रशिक्षार्थीहरूले तयार गरेका भक्तपुर नगरपालिकाका लागि स्मार्ट यातायात नीति; भक्तपुरका लागि स्मार्ट शिक्षा नीति; पारदर्शी र खुला सरकार; स्मार्ट सिटीका लागि सूचना प्रविधि पूर्वाधार; र स्मार्ट अर्थव्यवस्थाका लागि नवप्रवर्तन र उद्यमशीलता शीर्षकका पाँच वटा नीति सङ्क्षेपहरूलाई अन्तिम स्वरूप प्रदान गरेर भक्तपुर नगरपालिकालाई हस्तान्तरण गर्ने स्टाफ कलेजले जनाएको छ ।
प्रस्तुत प्रशिक्षण नीति अनुसन्धान प्रतिष्ठान र नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानबिच भएको संस्थागत समझदारीको सम्झौता अनुसार विगतदेखि नै सहकार्यमा रहेको उपसचिव र सहसचिव स्तरका कर्मचारीहरूको पेशागत विकास तालिमकै निरन्तर शृङ्खलाको एक भाग हो ।
कार्यक्रमको अन्तिम दिनको नीति सङ्क्षेप प्रस्तुतीकरण र दीक्षान्त समारोहमा नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक डा. राजन खनाल, वरिष्ठ निर्देशक तुलसी शरण सिग्देल, निर्देशक त्रिलोचन पौड्याल र नीति अनुसन्धान प्रतिष्ठानका डा. दीपक कुमार खड्का सहभागी हुनुभएको थियो। डा. राजन खनालले समापन मन्तव्यमा सार्वजनिक नीति प्रवर्तन प्रशिक्षणको विस्तार र लोकप्रियताको बारेमा बोल्नुहुँदै नीति अनुसन्धान प्रतिष्ठानसँगको सहकार्यको महत्त्वलाई जोड दिनुभयो।
समाचार लेखन: गोपाल आचार्य