नेपालको जनसाङ्ख्यिक पूर्वानुमान र तिनका नीतिगत निहितार्थ विषयमा नीति प्रवचनको आयोजना

April 8, 2025

२०८१ चैत्र २६
नीति अनुसन्धान प्रतिष्ठान, नारायणहिटी

नीति अनुसन्धान प्रतिष्ठानमा “नेपालको जनसाङ्ख्यिक पूर्वानुमान र तिनका नीतिगत निहितार्थ” विषयक नीति प्रवचन आयोजना गरियो, जसको प्रस्तोता इन्टर्नेशनल इन्स्टिच्युट फर अप्लाइड सिस्टम एनालाइसिस (IIASA), अष्ट्रियाका वरिष्ठ अनुसन्धानकर्ता प्राध्यापक डा. समिर केसी हुनुहुन्थ्यो । प्रा. केसी जनसङ्ख्या-आधारित प्रणाली मोडेल (PopSyM) को विस्तारित उपयोग गर्दै तथ्याङ्कीय सचेतनाको माध्यमबाट नेपाललाई सु-सूचित समाजतर्फ लैजाने उद्देश्य राखेको संस्था, जनसङ्ख्या र तथ्याङ्क अध्ययन अनुसन्धान हब (PSRHUB) का संस्थापक पनि हुनुहुन्छ ।

नीति अनुसन्धान प्रतिष्ठानका वरिष्ठ अनुसन्धानकर्ता डा. दीपक कुमार खड्काले प्रा. केसी र उहाँको टोलीका सदस्यहरू – जिबेश आचार्य, दिव्या शक्य र समृद्धि मल्ल – लाई परिचित गराउनुभयो । उहाँहरू नेपाल जनसङ्ख्या पूर्वानुमान (सन् २०२१-२०५१) शीर्षकको विषयगत प्रतिवेदनका योगदानकर्ता हुनुहुन्छ। राष्ट्रिय जनगणना सन् २०२१ को आधारमा तयार पारिएको यो प्रतिवेदन राष्ट्रिय तथ्याङ्क कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, नेपाल सरकारद्वारा प्रकाशित गरिएको थियो।

नीति अनुसन्धान प्रतिष्ठानका कार्यकारी अध्यक्ष डा. लेखनाथ शर्माले प्रस्तुतकर्ताहरूलाई स्वागत गर्दै नीति निर्णयमा जनसाङ्ख्यिकीको उपयोग अपरिहार्य रहेको टिप्पणी गर्नुभयो। प्रा. केसीले आफ्नो प्रस्तुतीकरण सुरु गर्दै “नेपालीहरूले राम्रो जीवनलाई कसरी परिभाषित गर्छन्?” भन्ने विषयमा गरिएको एक अनुसन्धानको नतिजालाई लिङ्ग (पुरुष, महिला) र क्षेत्र (शहरी, ग्रामीण) अनुसार वर्गीकृत गरी प्रस्तुत गर्नुभयो।

मुख्य विषयवस्तुहरूलाई निम्न तीन भागमा प्रस्तुत गरिएको थियो ।

पहिलो भागमा प्रा. केसीले नेपालमा रहेका जनसाङ्ख्यिक समस्याहरू, जस्तै वृद्धावस्था-उन्मुख जनसङ्ख्या वितरण, घट्दो प्रजनन दर (जनसङ्ख्या वृद्धिदर), आप्रवासन, लैङ्गिक असमानता आदिका बारेमा प्रकाश पार्नुभयो। उहाँले जनसङ्ख्या पूर्वानुमानलाई दीर्घकालीन नीति निर्माण र रणनीतिक योजना बनाउन मजबुत ढाँचा प्रदान गर्ने उपायको रूपमा व्याख्या गर्नुभयो, जसले विभिन्न विकास क्षेत्रहरूमा राष्ट्रिय र उपराष्ट्रिय लक्ष्यहरू निर्धारण गर्नका लागि महत्त्वपूर्ण जानकारी प्रदान गर्दछ।

दोस्रो भागमा, उहाँहरूको अध्ययन प्रतिवेदनमा प्रयोग भएको हाइरार्किकल कोहोर्ट कम्पोनेन्ट मोडेलका बारेमा प्रा. केसीले विस्तृत जानकारी दिनुभयो । उक्त अध्ययनमा जिल्ला स्तरको तथ्याङ्कको जनसाङ्ख्यिक विश्लेषण गरी त्यसै अनुरूप नगरपालिका र वडाका लागि पूर्वानुमान गरिएको थियो भने जिल्लागत तथ्याङ्कलाई एकीकृत गरी प्रदेश र नेपालको समग्र विश्लेषण गरिएको थियो। प्रा. केसीले जनसङ्ख्या पूर्वानुमानको सैद्धान्तिक रूपरेखाको वर्णन गर्दै तीन वटा कल्पित जनसाङ्ख्यिक परिप्रेक्ष्य – मध्यम परिप्रेक्ष्य (प्रगतिशील नेपाल), उच्च परिप्रेक्ष्य (सम्पन्न दिगो नेपाल) र न्यूनतम परिप्रेक्ष्य (अति कम विकसित देश नेपाल) – का आधारमा आकलन गरिएका जनसङ्ख्या प्रवृत्तिहरू प्रस्तुत गर्नुभयो ।

तेस्रो भागमा, स्वास्थ्य क्षेत्र (जस्तै, खोपको आवश्यकता अनुमान), शिक्षा क्षेत्र (आधारभूत तहमा भर्ना दर पूर्वानुमान), सहरी योजना, आर्थिक क्षेत्र र जातीय तथा लिङ्गमा आधारित विश्लेषण लगायत विविध क्षेत्रमा यस्तो पूर्वानुमानको उपयोगबारे छलफल गरियो।

घट्दो प्रजनन दर, जन्ममा उच्च लैङ्गिक अनुपात, मृत्यु दरमा सुधार र युवा पलायनको बदलिँदो ढाँचा आदि अध्ययनका महत्त्वपूर्ण निष्कर्षहरू रहेको पाइयो। जनसङ्ख्या परिवर्तनबाट सिर्जित हुन सक्ने आगामी चुनौतीहरूलाई सम्बोधन गर्नका प्रदान गरिएका नीति सिफारिसहरूमा: कर छुट, सुत्केरी बिदा सम्बन्धी नीतिगत व्यवस्था, बालबालिकाको खर्चमा अनुदान र लचिलो काम गर्ने वातावरण जस्ता आर्थिक प्रोत्साहन (प्रजनन दर बढाउनका लागि), सस्तो, सुलभ र पहुँचयोग्य स्वास्थ्य सेवा (स्वस्थ वृद्धावस्थाका लागि), र ग्रामीण क्षेत्रहरूमा साना तथा मझौला उद्यममार्फत रोजगारी सिर्जना र कृषि-व्यवसाय प्रवर्धन (आन्तरिक आप्रवासन घटाउनको लागि) आदि समावेश थिए।

नीति अनुसन्धान प्रतिष्ठानका अनुसन्धानकर्ताहरू र इन्टर्नहरूले प्रा. केसीको प्रस्तुतीकरणमा विशेष रुचि देखाउँदै नीति अनुसन्धानमा यस्ता निष्कर्षहरूको प्रयोगको बारेमा विभिन्न प्रश्नहरू प्रस्तुत गर्नुभयो। ती प्रश्नहरू र सुझावहरूले भविष्यका अध्ययनहरूको लागि नयाँ अनुसन्धान प्रश्नहरू तयार गर्नमा सघाउ हुने देखियो।

डा. खड्काले प्रस्तुतकर्ता टोलीलाई धन्यवाद व्यक्त गर्नुभयो र कार्यकारी अध्यक्ष डा. शर्माले औपचारिक रूपमा सत्रको समापन गर्नुभयो।

तस्बिर: बिमल चन्द्र शर्मा
नोट लेखन: सोनिया बस्याल

अतिथिहरू:
प्रा. डा. समिर केसी (वरिष्ठ अनुसन्धानकर्ता, इन्स्टिच्युट फर अप्लाइड सिस्टम एनालाइसिस (IIASA), अष्ट्रिया)
जिबेश आचार्य (तथ्याङ्कविद्, जनसङ्ख्या र तथ्याङ्क अध्ययन अनुसन्धान हब)
दिव्या शाक्य (तथ्याङ्कविद्, जनसङ्ख्या र तथ्याङ्क अध्ययन अनुसन्धान हब)
संवृद्धि मल्ल (अनुसन्धान तथा विकास व्यवस्थापक, जनसङ्ख्या र तथ्याङ्क अध्ययन अनुसन्धान हब)

सहभागीहरू:
प्रा. डा. लेखनाथ शर्मा (कार्यकारी अध्यक्ष, नी.अ.प्र.)
डा. दीपक कुमार खड्का (वरिष्ठ अनुसन्धानकर्ता, नी.अ.प्र.)
डा. मोहन कुमार शर्मा (वरिष्ठ अनुसन्धानकर्ता, नी.अ.प्र.)
डा. निरन्जन देवकोटा (अनुसन्धानकर्ता, नी.अ.प्र.)
डा. सुबास अधिकारी (अनुसन्धानकर्ता, नी.अ.प्र.)
डा. प्रभात राज दाहाल (अनुसन्धानकर्ता, नी.अ.प्र.)
अशोक पाण्डे (अनुसन्धानकर्ता, नी.अ.प्र.)
डा. महेश्वर गिरि (सह-अनुसन्धानकर्ता, नी.अ.प्र.)
गोपाल आचार्य (सह-अनुसन्धानकर्ता, नी.अ.प्र.)
रीजा मानन्धर (विश्लेषक, नी.अ.प्र.)
सोनिया बस्याल (विश्लेषक, नी.अ.प्र.)
बिमल चन्द्र शर्मा (पुस्तकालय व्यवस्थापन संयोजक, नी.अ.प्र.)
बम बहादुर खड्का (लेखा अधिकृत, गोरखापत्र)
आशिष भण्डारी (इन्टर्न, नी.अ.प्र.)
धिरज भट्ट (इन्टर्न, नी.अ.प्र.)
विजय कोइराला (इन्टर्न, नी.अ.प्र.)
स्नेही रिजाल (इन्टर्न, नी.अ.प्र.)
सतिस सापकोटा (इन्टर्न, नी.अ.प्र.)