नीति अनुसन्धान प्रतिष्ठानमा भूमि सम्बन्धी विद्यमान समस्याहरू तथा समाधानका उपाय सम्बन्धी सार्वजनिक नीति संवाद कार्यक्रम सम्पन्न

May 6, 2025

२०८२ वैशाख २३
नीति अनुसन्धान प्रतिष्ठान, नारायणहिटी

नीति अनुसन्धान प्रतिष्ठानले भूमि सम्बन्धी विद्यमान व्यवहारिक र नीतिगत समस्याहरू तथा समाधानका उपाय सम्बन्धी सार्वजनिक नीति संवाद कार्यक्रम सम्पन्न गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको अनुरोधमा प्रतिष्ठानबाट गर्न लागिएको ‘कृषि योग्य भूमि खण्डीकरण तथा कृषि भूमि गैर कृषि क्षेत्रमा प्रयोग’ सम्बन्धी अध्ययन, तथा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको अनुरोधमा गरीएको ‘भू-उपयोग नीति २०७२ र राष्ट्रिय भूमि नीति २०७५ को समीक्षा’ का लागि सान्दर्भिक सूचना सङ्कलनको लागि यो कार्यक्रम आयोजना गरीएको हो । 

कार्यक्रममा भूमि उपयोग, वर्गीकरण र नीतिगत सुधारमा सक्रिय योगदान पुर्‍याउँदै आउनुभएका विज्ञहरू लगायत यस विषयमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सम्बन्धित सरोकारवालाहरूको उपस्थिति रहेको थियो । सहभागीहरूलाई स्वागत गर्दै, नीति अनुसन्धान प्रतिष्ठानका वरिष्ठ अनुसन्धानकर्ता डा. मुक्ति राम रिजालले नीति अनुसन्धानको कार्यमा प्रतिष्ठानले अवलम्बन गर्ने विधिबारे उल्लेख गर्नुभयो र यसमा सरोकारवालाहरूको अनुभव, धारणा तथा तर्कहरूको विशेष महत्त्व हुने कुरामा जोड दिनुभयो ।

संवादका आधारभूत विषयवस्तुमाथि प्रकाश पार्दै प्रतिष्ठानको प्राकृतिक स्रोत तथा प्रविधि नीति अध्ययन केन्द्रका सह-अनुसन्धानकर्ता डा. प्रभात राज दाहालले भूमि, भू-उपयोग तथा भूमिको वर्गीकरण सम्बन्धी विद्यमान नीतिगत व्यवस्थाहरूबारे प्रस्तुतीकरण गर्नुभएको थियो ।

नीति संवादमा छलफलका लागि प्रस्तुत गरिएका मुख्य विषयवस्तुहरू यस प्रकार रहेका थिए:

  • स्थानीय तहमा भूमि वर्गीकरण (कृषि, आवासीय, व्यावसायिक, औद्योगिक, खानी तथा खनिज, वन,जलीय, सार्वजनिक, सांस्कृतिक लगायत १० प्रकार) र भू-उपयोग योजना कार्यान्वयनको अवस्था, समस्याहरू र तिनका समाधानका उपाय
  • भूमि अधिकार, स्वामित्व, ग्रहण, अतिक्रमण, भूमि बजार, व्यावसायिक प्रयोगको अवस्था, समस्या र समाधानका उपाय
  • कृषि भूमिको उपयोग, खण्डीकरण, बाँझो जग्गा लगायत विषयका अवस्था, समस्या र समाधानका उपाय
  • भूमि सम्बन्धी नीति अध्ययनको लागि सरोकारवाला, स्रोत व्यक्ति र सन्दर्भ सामग्रीबारे जानकारीहरू

विभिन्न क्षेत्र, तह तथा निकायबाट प्रतिनिधित्व गर्नुभएका सहभागीहरूले भू-उपयोग योजना निर्माण तथा कार्यान्वयनमा भुइँ तहमा देखिएका प्राविधिक तथा संस्थागत समस्याहरूमा प्रकाशन पार्दै स्थानीय तहको क्षमता अभिवृद्धि र निरन्तर व्यावसायिक विकासको आवश्यकता पहिल्याउनु भएको थियो । साथै, सामाजिक न्याय, उत्पादन वृद्धि र वातावरण संरक्षणका उद्देश्यलाई समेट्ने गरी भूमि सम्बन्धी सम्पूर्ण नीतिहरूमा तादात्म्य कायम गर्दै समन्वित नीतिगत पहल आवश्यक भएकोमा जोड दिइएको थियो ।

लगत सङ्कलन, वास्तविक भूमिहीनहरूको पहिचान, उपयोगका आधारमा भूमिको वर्गीकरण र नक्साङ्कन, भूमि उपयुक्तता योजना लगायतका विषयमा हालसम्म भएका कार्यहरूको समीक्षा गर्ने क्रममा सहभागीहरूले दिनुभएका अभिव्यक्तिहरूले समस्याको पहिचान गर्न, समाधानका उपायहरू निर्धारण गर्न र आगामी दिनमा ध्यान दिनुपर्ने विषयहरूप्रति आकृष्ट गर्नका लागि प्रतिष्ठानको अध्ययनमा महत्त्वपूर्ण योगदान पुर्याउनेछ ।

संवादको सहजीकरण प्रतिष्ठानका वरिष्ठ अनुसन्धानकर्ता, डा. दीपक कुमार खड्काले गर्नुभएको थियो । कार्यक्रमको समापनमा उहाँले अध्ययनका लागि तथ्याङ्कको पर्याप्तता सुनिश्चित गर्न थप छलफल र प्रमुख स्रोत व्यक्तिहरूसँग सघन अन्तर्वार्ता गरिने जानकारी दिनुभयो।

नोट लेखन: सोनिया बस्याल र स्‍नेही रिजाल
तस्विर: बिमल चन्द्र शर्मा

सहभागीहरू:
प्रा. डा. तारानिधि भट्टराई (अनुसन्धानकर्ता, नेपाल विकास अनुसन्धान प्रतिष्ठान)
डा. जगन्नाथ अधिकारी (अनुसन्धानकर्ता, नेपाल विकाश अनुसन्धान प्रतिष्ठान)
जनकराज जोशी (कार्यकारी निर्देशक, भूमि व्यवस्थापन प्रशिक्षण केन्द्र)
डा. सुवास घिमिरे (सह-प्राध्यापक, काठमाडौं विश्वविध्यालय)
डिल्ली गिरी (सचिव, सामुदायिक वन उपभोक्ता महासंघ, नेपाल)
डा. दीपक रिजाल (परामर्शदाता, लि-बर्ड)
डा. देवेन्द्र गौचन (कृषि अर्थशास्त्री तथा खाद्य नीति विज्ञ)
सुष्मा न्यौपाने (अभियान संयोजक, सामुदायिक आत्मनिर्भर केन्द्र)
जगत बस्नेत (विज्ञ सदस्य, भूमि समस्या समाधान आयोग)
संजीब कुमार शाह (प्रमुख नापी अधिकृत, भूमि समस्या समाधान आयोग)
योगेश पूर्ण श्रेष्ठ (भूमि उपयोग विज्ञ, विश्व बैंक समूह, नेपाल)
तारादेवी खतिवडा (भूमि उपयोग विज्ञ, विश्व बैंक समूह, नेपाल)
भीमार्जुन अधिकारी (सहसचिव, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय)
राजेश गौतम (सहसचिव, राष्ट्रिय योजना आयोग)
सुरेश सुनार (उपसचिव, राष्ट्रिय विपद जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरण)
तीर्थराज बराल (निर्देशक, राष्ट्रिय तथ्याङ्क कार्यालय)
हरि प्रकाश सुबेदी (सहायक प्रशासक, गुठी संस्थान)
राजेन्द्र दाहाल (सहायक प्रशासक, गुठी संस्थान)
पंचकाजी श्रेष्ठ (अध्यक्ष, राष्ट्रिय कृषक समूह महासंघ नेपाल)

नीति अनुसन्धान प्रतिष्ठान
डा. दीपक कुमार खड्का (वरिष्ठ अनुसन्धानकर्ता)
डा. मुक्ति राम रिजाल (वरिष्ठ अनुसन्धानकर्ता)
डा. निरन्जन देवकोटा (अनुसन्धानकर्ता)
डा. सुबास अधिकारी (अनुसन्धानकर्ता)
डा. प्रभात राज दाहाल (अनुसन्धानकर्ता)
डा. महेश्वर गिरि (सह-अनुसन्धानकर्ता)
गोपाल आचार्य (सह-अनुसन्धानकर्ता)
रीजा मानन्धर (विश्लेषक)
सोनिया बस्याल (विश्लेषक)
बिमल चन्द्र शर्मा (पुस्तकालय व्यवस्थापन संयोजक)
मिलन श्रेष्ठ (वरिष्ठ सहायक)
आशिष भण्डारी (इन्टर्न)
जुना श्रेष्ठ (इन्टर्न)
आयुष्का के.सी (इन्टर्न)
स्नेही रिजाल (इन्टर्न)
सतिस सापकोटा (इन्टर्न)
बलिहांग लिम्बु (इन्टर्न)

यस कार्यक्रमको फोटोहरूका लागि यहाँ क्लिक गर्नु होला l