नीति अनुसन्धान प्रतिष्ठानका वरिष्ठ विधागत विज्ञहरूसँग अन्तर्क्रिया तथा छलफल सम्पन्न
२०८१ साउन १४
नीति अनुसन्धान प्रतिष्ठान, नारायणहिटी
नीति अनुसन्धान प्रतिष्ठानका विधागत अनुसन्धान केन्द्रहरू र मातहतका अनुसन्धान एकाइहरू अन्तर्गत गरिने नीतिक्षेत्र विशेषका अनुसन्धान, सार्वजनिक नीतिको समीक्षा लगायतका कार्यहरूमा केन्द्रलाई सल्लाह, सुझाव र मार्गदर्शन दिइरहनुभएका वरिष्ठ विधागत विज्ञ सल्लाहकारहरूसँग एक दिने अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरिएको छ। प्रतिष्ठानको आ. व. २०८०/८१ मा सम्पन्न कार्यक्रमहरूको प्रगतिबारे जानकारी गराई प्रतिष्ठानका लागि चालु आ. व. २०८१/८२ का लागि अनुसन्धान गर्नुपर्ने नीतिगत विषय, प्रतिष्ठानको आगामी कार्यदिशा तथा उहाँहरूसँगको सहकार्य र सहयोगलाई थप प्रभावकारी बनाउन सल्लाह, सुझाव, परामर्श लिने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको थियो।
प्रतिष्ठानका कार्यकारी अध्यक्ष प्रा. डा. लेखनाथ शर्माले सहभागी विज्ञहरूलाई कार्यक्रममा स्वागत गर्दै कार्यक्रमको सञ्चालन गर्नुभएको थियो। प्रतिष्ठानका अनुसन्धान विभाग प्रमुख, डा. हरि शर्मा न्यौपानेले कार्यक्रमको उद्देश्यसहित प्रतिष्ठानको कार्यप्रगतिको बारेमा सङ्क्षिप्त प्रस्तुति गर्नुभएको थियो। कार्यक्रममा सहभागी विज्ञहरूले प्रतिष्ठानका नवनियुक्त कार्यकारी अध्यक्षलाई यो जिम्मेवारी र प्रतिष्ठानको हालसम्मको उपलब्धि दुवैका लागि बधाई ज्ञापन गर्नुभएको थियो। वहाँहरूले चालु तथा आगामी वर्षमा प्रतिष्ठानले गर्नुपर्ने नीतिगत अनुसन्धानका विषयहरू बारेमा सुझाव पनि दिनु भयो। सुझाव दिइएका प्रमुख अनुसन्धानका विषयहरूमा सरकारी निकायमा गरिने सङ्गठन र व्यवस्थापन सर्वेक्षणको प्रभावकारिता अध्ययन, राष्ट्रिय जलवायु परिवर्तन नीतिको पुनरावलोकन, कृषिमा छाता नीतिको आवश्यकता आदि रहेका थिए।
प्रतिष्ठानले ५ वर्ष काम गरिसकेको सन्दर्भमा प्रतिष्ठानले गरेका कार्यहरूको प्रगति, रणनीतिक योजना तथा प्रतिष्ठानको कार्यको सरकारद्वारा अपनत्व भएका विषयहरूमा पनि प्रतिष्ठानले स्व-मूल्याङ्कन गर्नुपर्ने विषयमा पनि विज्ञहरूबाट सुझाव प्राप्त भएको थियो। त्यसै गरी हालसम्म पास हुन नसकेको नीति अनुसन्धान प्रतिष्ठानको विधेयकले चाँडै पूर्णता पाउनु पर्नेमा जोड दिँदै विज्ञहरूले आगामी दिनमा प्रतिष्ठानको भूमिका अझ व्यापक र प्रभावकारी बनाई सार्वजनिक निकायहरूबिच हुने अनुसन्धानमा देखिने दोहोरोपना समेतलाई नियन्त्रण गर्ने गरी प्रतिष्ठानले अनुगमनको पाटोलाई पनि ध्यान दिनुपर्ने सुझाएका थिए।
प्रतिष्ठानको नीति अध्ययन केन्द्र प्रमुखहरूले पनि विज्ञहरूका सल्लाह सुझाव तथा आगामी दिनका अनुसन्धान परियोजनाका विषयहरूमा पुनः केन्द्रस्तरमा सम्बद्ध विज्ञहरूसँग थप र विस्तृत छलफल गरेर अनुसन्धानका परियोजनाहरू निर्धारण गर्ने प्रतिबद्धता जनाउनु भयो l कार्यक्रमको अन्त्यमा कार्यकारी अध्यक्षबाट सबैलाई धन्यवाद ज्ञापनसहित प्रतिष्ठानका वरिष्ठ विधागत विज्ञहरूको आगामी भूमिका थप सशक्त रहनेमा विश्वास व्यक्त गर्नुभयो।
आमन्त्रित अतिथि
- श्री लीलामणी पौड्याल
- प्रा. डा. गोविन्दराज पोखरेल
- डा. डिल्लीराज खनाल
- जनरल (अ. प्रा.) हिमालय थापा
- डा. सुरोज पोखरेल
- डा. शरद वन्त
- डा. दिनेशराज भुजु
- जनरल (अ. प्रा.) बालानन्द शर्मा
नीति अनुसन्धान प्रतिष्ठान
- प्रा. डा. लेखनाथ शर्मा (कार्यकारी अध्यक्ष)
- लक्ष्मण प्रसाद भट्टराई (कार्यालय प्रबन्धक)
- डा. हरि शर्मा न्यौपाने (अनुसन्धान विभाग प्रमुख)
- डा. मुक्तिराम रिजाल (वरिष्ठ अनुसन्धानकर्ता)
- डा. खगनाथ अधिकारी (वरिष्ठ अनुसन्धानकर्ता)
- डा. कल्पना खनाल (वरिष्ठ अनुसन्धानकर्ता)
- डा. गिरीराज शर्मा (अनुसन्धानकर्ता)
- डा. मनिता कुशी (सह-अनुसन्धानकर्ता)
- डा. झमकुमार विश्वकर्मा (सह-अनुसन्धानकर्ता)
- अशोक पाण्डे (सह-अनुसन्धानकर्ता)
- रीजा मानन्धर (विश्लेषक)
- बिमल चन्द्र शर्मा (पुस्तकालय व्यवस्थापन संयोजक)
- ज्योती लुइँटेल (अनुसन्धान इन्टर्न)
- सोनिया बस्याल (अनुसन्धान इन्टर्न)
- कञ्चन गौतम (अनुसन्धान इन्टर्न)
- अश्मिता रिजाल (अनुसन्धान इन्टर्न)