नीति अनुसन्धान प्रतिष्ठान र नेपाल रिसर्च एण्ड एजुकेशन नेटवर्क (एनआरइएन) बिच अनुसन्धान तथा शैक्षिक नेटवर्क सुविधाको लागि समझदारीपत्रमा हस्ताक्षर सम्पन्न
नीति अनुसन्धान प्रतिष्ठान र नेपाल रिसर्च एण्ड एजुकेशन नेटवर्क (एनआरइएन) बिच अनुसन्धान तथा शैक्षिक नेटवर्क सुविधाको लागि समझदारीपत्रमा हस्ताक्षर सम्पन्न
२०८१ असार ७
नीति अनुसन्धान प्रतिष्ठान, नारायणहिटी
राष्ट्रिय र विश्वव्यापी अनुसन्धान र शिक्षा समुदायहरूसँग द्रुत गतिको अनुसन्धान र शिक्षा ‘नेटवर्क’ स्थापना गर्ने उद्देश्यका साथ नीति अनुसन्धान प्रतिष्ठान र नेपाल रिसर्च एण्ड एजुकेशन नेटवर्क (एनआरइएन) बिच समझदारीपत्रमा हस्ताक्षर भएको छ । नेपाल रिसर्च एण्ड एजुकेशन नेटवर्क नेपालमा अनुसन्धान र शैक्षिक समुदायको लागि सूचना र डेटा प्रवाह गर्ने द्रुत गतिको र समर्पित अनुसन्धान तथा शैक्षिक नेटवर्क उपलब्ध गराउन स्थापित भएको गैरनाफामूलक संस्था हो । यस संस्थाले हालसम्म नेपालका विश्वविद्यालय, कलेज, अनुसन्धान संस्थाहरू गरी ३५ संस्थाहरूलाई अनुसन्धान तथा शैक्षिक नेटवर्क सेवा प्रदान गरेको छ ।
आज प्रतिष्ठानका कार्यकारी अध्यक्ष प्रा डा लेखनाथ शर्माको कार्यकक्षमा वहाँको उपस्थितिमा नीति अनुसन्धान प्रतिष्ठानका तर्फबाट कार्यालय प्रबन्धक श्री लक्ष्मण प्रसाद भट्टराई र सूचना तथा ज्ञान व्यवस्थापन विभागका प्रमुख डा दीपक कुमार खड्काले र नेपाल रिसर्च एण्ड एजुकेशन नेटवर्कका तर्फबाट कार्यकारी निर्देशक डा राजन पराजुली र नेटवर्क इन्जिनियर श्री निराजन पराजुलीले समझदारीपत्रमा हस्ताक्षर गरेका गर्नुभएको थियो । समझदारीबाट नीति अनुसन्धान प्रतिष्ठानले रिसर्च एण्ड एजुकेशन नेटवर्क कार्यक्रमको सशुल्क सदस्यता प्राप्त गरेको छ । यसबाट प्रतिष्ठानले राष्ट्रिय तथा अन्तरराष्ट्रिय अनुसन्धान तथा शैक्षिक नेटवर्कको जडान र देहायका विभिन्न नेटवर्क सुविधाहरू तथा परामर्श सेवा पाउनेछ ।
- अनुसन्धान समुदायबिच द्रुत गतिमा सूचना र डेटा आदानप्रदान गर्ने नेटवर्क
- शैक्षिक प्रयोजनको नि:शुल्क वाइफाइ (एडुरोम)
- भर्चुअल बैठकको लागि जूम एप प्रयोगको लाइसेन्स
- सुपथ मूल्यमा डेटा सङ्ग्रह गर्ने क्लाउड स्रोत
- संस्थामा आन्तरिक सञ्चार नेटवर्क जडान गर्न परामर्श सेवा
- क्षमता अभिवृद्धिको लागि तालिम तथा कार्यशाला
नीति अनुसन्धान प्रतिष्ठानले अनुसन्धानकर्ताहरूका लागि स्रोत साधनको दायरा बढाउन उच्च प्रविधिको प्रयोग र डिजिटाइजेशनलाई विशेष प्राथमिकतामा राखेको छ । यसको लागि संस्थागत सहयोग र सहकार्यको समेत उपयोग गरिनेछ । रिसर्च एण्ड एजुकेशन नेटवर्कमा सहभागिता यस्तो सहकार्यको एउटा दृष्टान्त हो ।