नीति अनुसन्धान प्रतिष्ठान र मध्यपश्चिम विश्वविद्यालय बिच सहयोग र सहकार्यको लागि समझदारीपत्रमा हस्ताक्षर गरिएको छ
२०८० माघ २६
नीति अनुसन्धान प्रतिष्ठान र मध्यपश्चिम विश्वविद्यालय वीरेन्द्रनगर, सुर्खेतबिच नीति अनुसन्धान प्रतिष्ठान, नारायणहिटी, मा आयोजित एक समारोहमाझ आपसी सहयोग र सहकार्यका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारीपत्रमा मध्यपश्चिम विश्वविद्यालयका रजिष्ट्रार, प्रा. डा. नारायणप्रसाद पौडेल, र नीति अनुसन्धान प्रतिष्ठानका कार्यालय प्रबन्धक, श्री लक्ष्मण भट्टराई, ले हस्ताक्षर गर्नुभएको थियो ।
कार्यक्रममा उपस्थित पदाधिकारीहरूमा विश्वविद्यालयका उपकुलपति, प्रा. डा. नन्दबहादुर सिंह; स्कुल अफ हुम्यानिटिज एण्ड सोसल साइन्सेजका डीन, सह-प्राध्यापक डा. लीलाधर तिवारी; योजना, विकास तथा अनुगमन निर्देशनालयका कार्यकारी निर्देशक तथा म.प.वि. नीति प्रयोगशालाका संयोजक, प्रा. डा. चन्द्रप्रसाद रिजाल; म.प.वि. योजना, विकास तथा मूल्याङ्कन निर्देशनालयका कार्यकारी निर्देशक, डा. दिनेशराज भुजु; र उपकुलपति सचिवालयका सूचना प्रविधि विज्ञ उपप्राध्यापक पन्च देव भट्ट उपस्थित हुनुहुन्थ्यो । कार्यक्रममा उपस्थित नीति अनुसन्धान संस्थानका पदाधिकारीहरूमा सूचना तथा ज्ञान व्यवस्थापन विभागका प्रमुख डा. दीपक कुमार खड्का; अनुसन्धान विभागका प्रमुख डा. हरि शर्मा न्यौपाने; वरिष्ठ अनुसन्धान फेलोहरू, डा. मुक्ति रिजाल, डा. खगनाथ अधिकारी र डा. कल्पना खनाल; र विश्लेषक, श्री गोपाल आचार्य हुनुहुन्थ्यो ।
समझदारीपत्रमा उल्लेख भए अनुसार विश्वविद्यालय र प्रतिष्ठान बिच सहयोग र सहकार्यका क्षेत्रहरूमा सार्वजनिक नीति-सान्दर्भिक अनुसन्धान, नीति प्रयोगशालासँग सम्बन्धित गतिविधिहरू; सार्वजनिक नीति संवाद; तालिम, सेमिनार र कार्यशालाहरू सहित अनुसन्धान क्षमता विकास कार्यक्रमहरू; वैज्ञानिक सभा सम्मेलनहरू, अनुसन्धान प्रसार, र प्रकाशनहरू; र मानव संसाधन, सूचना, तथ्याङ्क, सामग्री, पुस्तकालय, बौद्धिक सम्पत्ति, र प्रविधि लगायतका स्रोतसाधनको सहयोग, आदानप्रदान र साझेदारी रहेका छन् ।
सो अवसरमा मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति, प्रा. डा. नन्दबहादुर सिंह, र नीति अनुसन्धान प्रतिष्ठानका पदाधिकारीहरूले समझदारीपत्रबाट औपचारिक सम्बन्ध स्थापित भएकोमा खुशी व्यक्त गर्दै मध्य-पश्चिम विश्वविद्यालयको नीति प्रयोगशाला पहल लगायत आपसी हित र जिम्मेवारीका विभिन्न क्षेत्रमा गर्न सकिने सहयोग, आदानप्रदान र सहकार्यबारे आशा र दृष्टिकोण व्यक्त गर्नुभएको थियो ।