
“किन खाद्य सुरक्षा र कृषि विकास राष्ट्रिय प्राथमिकतामा राखिनु पर्छ?” भन्ने शीर्षकमा नीति प्रवचन सम्पन्न
स्थान: नीति अनुसन्धान प्रतिष्ठानको सभा कक्ष
मिति: २०८० भदौ १२
मिति २०८० भदौ १२ का दिन “किन खाद्य सुरक्षा र कृषि विकास राष्ट्रिय प्राथमिकतामा राखिनु पर्छ?” भन्ने शीर्षकमा नीति संवादको आयोजना गरियो l खाद्य सुरक्षा तथा कृषि विकास सम्बन्धी नीतिगत क्षेत्रमा लामो राष्ट्रिय र अन्तर्राष्ट्रिय अनुभव हासिल गर्नु भएको विज्ञ विश्व पराजुलीले उक्त नीति प्रवचन दिनु भएको थियो l
श्री पराजुलीले विश्वमा रहेको कृषि उत्पादन/आर्जनको प्रचुरता र भोक तथा अभावका बिच कायम रहेको यथार्थताको चर्चा गर्दै प्रवचनको सुरु गर्नुभयो l उहाँका अनुसार:
१. विश्वमा आठै अरब जनसङ्ख्याका लागि पुग्ने खाद्यान्न उत्पादन हुन्छ तापनि प्रतिदिन प्रत्येक नौ जनामा एक जना भोकै सुत्नुपर्ने अवस्था छ
२. विश्वमा प्रतिदिन भोकै रहने व्यक्तिहरूको सङ्ख्या झन्डै पचासी करोड (८५० मिलियन) छ भने तेत्तिस करोड पचास लाख (३३५ मिलियन) व्यक्तिहरू भोकमरीको दोसाँधमा छन्
जलवायु परिवर्तन, प्रतिकूल मौसम र युद्ध तथा द्वन्द्वको परिणामका कारण सिर्जित यस्तो अवस्थाको अन्तका लागि खाद्य उत्पादनमा वृद्धि; खाद्य वितरणमा सम न्यायिक प्रणालीको स्थापना; जलवायु अनुकूलको खेती-बाली अनुसरण गर्ने बानी तथा प्रणालीको स्थापना; र, “दिगो विकास लक्ष २” ले प्रतिज्ञा गरेको भोकको अन्त तथा दिगो कृषिको स्थापनाको प्रतिबद्धता पूरा गरिनु अपरिहार्य भएको उहाँले बताउनुभयो l