कार्यकारी अध्यक्षको सन्देश

डा. विष्णु राज उप्रेती
कार्यकारी अध्यक्ष

कार्यकारी अध्यक्षको सन्देश

राष्ट्रको सार्वजनिक नीतिहरू प्रमाणमा आधारित, प्रभावकारी र कार्यात्मक बनाउने उद्देश्यले संविधानको धारा ५१ को मर्म अनुसार नेपाल सरकारबाट विशिष्ट विषय विज्ञ संस्थाको रूपमा गठन भई नेपालको सार्वजनिक नीति अनुसन्धानमा क्रियाशील हुन पाउँदा नीति अनुसन्धान प्रतिष्ठान गौरवान्वित छ ।

गुणस्तरीयता, पारदर्शिता, वस्तुपरकता, निष्ठा, विविधता, जवाफदेहिता र सहभागितालाई आफ्ना मूल मान्यता मानी नीति अनुसन्धान प्रतिष्ठानले काम गर्दै आएको छ । प्रमाणमा आधारित नीति निर्माणमा विशिष्ट संस्थाको रूपमा स्थापित हुने प्रतिष्ठानको ध्येय हो भने सार्वजनिक नीतिका लागि विश्वसनीय, तथ्यमा आधारित तथा परिवर्तनकारी ज्ञान सृजना गर्ने नीति अनुसन्धान प्रतिष्ठानको रणनीतिक उद्देश्य हो ।

उक्त उद्देश्य प्राप्तिका लागि प्रतिष्ठानले नेपाल सरकार र सम्बन्धित सरोकारवालाहरूसँग सहकार्य गर्दै आएको छ । सार्वजनिक नीति प्रक्रियाका लागि आवश्यक प्रमाणहरू र उच्च तहको ज्ञान सृजना गर्नका लागि प्रतिष्ठानले अन्य संघ–संस्थाहरूसँग पनि सहकार्य र पूरक भूमिकाको अपेक्षा गरेको छ । सार्वजनिक नीति समीक्षा, मूल्यांकन, तर्जुमा र नीतिहरू परिष्कृत गर्ने कार्यमा उपयोगी हुने तर नेपाल सरकार र नीति अनुसन्धान प्रतिष्ठान भन्दा बाहिर रहेका ज्ञान, सीप र अनुभवहरू समेत प्रतिष्ठानले उपयोग गर्दै आएको छ ।

विषय विज्ञ, सरोकारवालाहरू लगायत आम नागरिकलाई नीतिगत विषयमा आफ्ना विचार, अवधारणा र चासोहरू माथि बहस गर्ने, अनुसन्धानका निष्कर्षहरूमा छलफल गर्ने, सार्वजनिक नीति सम्बन्धी विषय उठान गर्ने र सुझाव लिने/दिने नियमित मञ्चको रूपमा “सार्वजनिक नीति संवाद”हरू आयोजना हुँदै आएका छन् । राजनीतिक निर्णयकर्ता, नीति निर्माता, प्राज्ञ, नीति विश्लेषकहरू र सरोकारवालाहरूले यस मञ्चको उपयोग गर्दै आउनुभएको छ भने उहाँहरूबाट प्राप्त पृष्ठपोषण तथा सुझावहरूलाई प्रतिष्ठानले नीति निर्माण प्रक्रियामा उपयोग गर्दै आएको छ । सार्वजनिक नीति संवादलाई थप उपलब्धिमूलक तथा वृहत् बनाउने तर्फ प्रतिष्ठान प्रयासरत रहेको जानकारी गराउदै गराउँदै यस मञ्चलाई अधिकतम उपयोग गर्न सम्बन्धित सबैलाई अनुरोध गर्दछु ।

नव गठित विषय विज्ञ संस्था भएकाले विश्वसनीय, समय सान्दर्भिक, सर्वस्वीकार्य र प्रभावकारी संस्थाको रूपमा परिचित तथा स्थापित हुनुपर्ने चुनौती प्रतिष्ठान सामु रहेको मैले महसुस गरेको छु । तथापि, हाम्रा कार्य मार्फत यी चुनौतीहरू सामना गर्न हामी प्रतिवद्ध छौँ। हाम्रो प्रयासमा सरकारका मन्त्रालय र विभागहरू, प्राज्ञिक संस्थाहरू, नागरिक समाज, निजी क्षेत्र, प्राज्ञ तथा मिडिया क्षेत्रबाट सहयोग प्राप्त भईरहेको छ र भविष्यमा पनि प्राप्त हुनेछ भन्ने अपेक्षा गरेको छु । हाम्रा सीमितता भित्र रही सम्बन्धित सबैसँग सहकार्य गर्न प्रतिष्ठान सधैँ तत्पर छ र प्रमाणमा आधारित नीति अनुसन्धान र नीति नवप्रवर्तन सम्बन्धी हाम्रो कार्यमा यहाँहरूबाट सुझावको अपेक्षा समेत गरेको छु ।

नीति अनुसन्धानको क्षेत्रमा वृत्ति विकास गर्न चाहने योग्य, समर्थ, प्रतिवद्ध र इच्छुक यूवा अनुसन्धाताहरूलाई हामी प्रतिष्ठानमा आवद्धभई सहकार्य गर्न आमन्त्रण गर्दछौँ। अध्ययन विदामा नेपाल आई आफूसँग भएको ज्ञान, सीप र अनुभवलाई देशको नीति अनुसन्धानमा प्रयोग गर्न प्रतिष्ठान बिदेशमा रहनु भएका गैरआवासीय नेपाली, प्राज्ञ तथा अनुसन्धाताहरूलाई पनि आमन्त्रण गर्दछ । नीति अनुसन्धान प्रतिष्ठानको खास अनुसन्धान क्षेत्र र प्रक्रियामा योगदान गर्न सक्ने अनुसन्धाता, समीक्षक, नीति विश्लेषकहरू संलग्न रहने विज्ञ सूची तयार भई उक्त सूची अद्यावधिक गर्ने तथा सूचिकृत विज्ञहरूबाट सेवा लिने कार्य निरन्तर चलिरहेको छ । यदि यहाँ पनि सो कार्यका लागि योग्य र इच्छुक हुनुहुन्छ भने सूचीकृत हुन हार्दिक अनुरोध गर्दछु ।

अन्तमा, राज्यको लागि अति आवश्यक यस प्रतिष्ठानलाई सबल, सफल, पारदर्शी, विश्वसनीय र प्रभावकारी बनाउने कार्यमा यहाँहरू सबैको महत्त्वपूर्ण भूमिका हुने भएकाले यस प्रयोजनका लागि यहाँहरूको साथ र सहयोगको लागि आव्हान गर्दछु ।